दफा ५२५
करारको परिपालना विलम्ब भएको मानिने

(१) कुनै खास समयमा परिपालना गर्नु पर्ने गरी भएको करार त्यस्तो समयमा वा समयभित्र परिपालना नभएमा करार परिपालना गर्न विलम्व भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको करार त्यस्तो समय पछि परिपालना गर्न सकिने रहेछ भने करारको एक पक्षले अर्को पक्षलाई मनासिब समय दिई परिपालना गर्न सूचना दिनेछ ।
(३) उपदफा (२) बमोजिम सूचना दिएकोमा सो बमोजिम त्यस्तो पक्षले करार परिपालना गर्नु पर्नेछ र करारको विलम्व गरी परिपालना भएको कारणबाट भएको हानि, नोक्सानी वापत निजले क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम करार परिपालना नभएमा त्यसरी सूचना दिने पक्षले करार रद्द गर्न सक्नेछ ।